राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलवारको बैठकले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयक संविधान विपरीत भएको निष्कर्ष निकालेको छ। बैठकले विधेयक फिर्ता लिन माग गर्दै संघीय संसदीय दललाई विधेयकको विपक्षमा उभिन निर्देश समेत गरेको छ।

मंगलवार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकमा प्रस्तावित संशोधन विधेयकको विषयमा छलफल भएको थियो। सो संशोधन विधेयक नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, साँस्कृतिक मान्यता विपरित रहेको समेत बैठकले ठहर गरेको छ।

सो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने कुरामा जोड दिइएको छ। यसअघि राज्य व्यवस्था समितिमा पार्टीको तर्फबाट कांग्रेसका सांसदहरुले फरक मत राखिसकेको समेत उल्लेख गरिएको छ।

त्यस्तै, बैठकमा दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नम्बर २ का कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मंगलवार बिहान उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भर्त्सना गरिएको छ। उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गरी हदैसम्मको कारबाही गर्न र गम्भीर घाइते डाँगीको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग समेत गरिएको छ।



Comment here