आर्थिककृषीन्युजराष्ट्रिय

दाङमा धान उत्पादन बढ्ने अनुमान

यो पटक दाङमा धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । बाँझा खेतहरु यो पाली अत्यन्तै कम देखिएको छ । बाझो जमिन खोज्दै ठेक्का वा अधियामा धान खेती गर्नेहरुको संख्या थपिएको छ । झण्डै दुई बर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमिनलाई घडेरी बनाउने काम पनि करिब –करिब रोकिएको छ ।

कोरोनाले गर्दा विदेश गएकाहरु फर्केका कारण पनि खेतीका लागि जनशक्ति थपिएको छ । ‘ठ्याक्कै तथ्याङ्क त संकलन भैसकेको छैन, स्थानीय तहसँग मौखिक जानकारी लिँदा बाँझो जमिन नरहने गरी खेतीको तयारी भइरहेको सूचना हामीसँग छ’, कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत भरतराज पोख्रेलले भने– ‘धानको बीउ, मल जुनरुपमा लगिएको छ, त्यसले यो बर्ष अघिल्लो बर्षभन्दा धेरै क्षेत्रफलमा खेती हुने अनुमान लगाउन सकिन्छ ।’ अघिल्लो साल ३५ हजार हेक्टरमा धान खेती गरिएको थियो ।

यो बर्ष लगभग थप ३ हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ । ‘यो बर्ष ३८ हजारभन्दा धेरै हेक्टरमा धान खेती हुन्छ होला’, पोख्रेलले भने– ‘धानको बीउ पुराउनै गाह्रो भयो, अघिल्लो बर्षको भन्दा धेरै मल बिक्री भइसकेको छ ।’

कुनै समयमा दाङलाई राप्ती अञ्चलको अन्न भण्डार मानिन्थ्यो । दाङमा उत्पादन भएको धानले साविक राप्ती अञ्चलका ५ जिल्लालाई खान पुग्थ्यो । तर, कृषि मजदुरको अभाव र प्लटिङले गर्दा उत्पादनमा कमी आएको थियो । दाङको उत्पादकत्व सन्तोष गर्न लायक रहेको विज्ञहरु बताउँछन् । दाङको जमिनमा प्रतिहेक्टर साढे ३ देखि ४ मेट्रिक टन धान उत्पादन हुने गर्दछ । ‘यो पटक गाउँघरतिर जमिन बाँझो नरहेन अवस्था बनेको छ’, बिजौरीका रविराज गौतमले भने– ‘बिदेशबाट फर्केकाहरु मात्र हैन, जिल्ला बाहिरबाट आएकाहरुले पनि खेतीमा रुचि देखाएका छन् ।’ उनी आफैको ४ कठ्ठा जमिन विगत वर्षमा बाँझो रहने गरेको थियो ।

‘यो पाली अधियामा खेती हुँदैछ’, उनले भने । पश्चिम श्रीगाउँमा पनि बाँझा खेतहरु जोत्न थालेका दृश्यहरु देखिएको स्थानीय भरत रावतले भने । घोराही–१८ को अम्बिकेश्वरी मन्दिरपूर्व प्लानिङ गरेर घडेरी बनाइएको ठाउँमा पनि यो बर्ष हलो चलेको छ । ‘कसैले ठेक्का त कसैले अधियामा दिएका छन्, कुला बनाएर घडेरीमा खेती हुन थालेको छ’, स्थानीय पूर्ण केसीले भने । बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा लामो समय बस्न नपरेको भए खेती गर्नेहरुको संख्या अझै बढ्ने केसीको अनुमान रहेको छ ।

धान मात्रै हैन, यो बर्ष करेसाबारीको उत्पादनसमेत बढेको अनुमान गरिएको छ । ‘तपाईले पनि देख्न सक्नुहुन्छ, बजार क्षेत्रका घडेरीहरुमा समेत केही न केही रोपिएको छ’, कृषि प्रसार अधिकृत पोख्रेलले भने– ‘कोरोनाले लकडाउनमा बस्न परेपछि जमिन उपयोग गर्ने गरेको देखियो ।’ बर्षे तरकारीका बीउहरु पनि अघिल्लो बर्षको तुलनामा यो बर्ष धेरै बिक्री भएको बिक्रेताहरुले बताएका छन् । धान, तरकारीसँगै अन्य कृषि उत्पादन पनि बढेको सरोकारवाला निकायहरुको अनुमान रहेको छ ।

मकै, दलहन पनि ज्यादा रोपिएको पाइएको छ । घडेरीमा दलहनमा पनि अडहर बढी रोपिएको छ । ‘क्वारेन्टाइनमा परीक्षणको रिपोर्ट नआएका कारण लामो समय बस्न नपरेको भए अझै थप जोतिन्थ्यो होला’, धर्नाका रमेश वलीले भने– ‘अब विदेश नजाने र यही खेती गर्ने बानी बस्नेझै देखिन्छ ।’

मनसुनको पनि साथ
यसपालीको मौसमले पनि खेतीलाई साथ दिएको छ । लकडाउनले कृषि श्रमिकको समस्यालाई पनि केही मात्रामा हल गरेको छ भने खेतीतर्फ आकर्षण पनि थपेको छ । यसैबेलामा समयमै मनसुन भित्रिएका कारण पनि खेती गर्नेहरुलाई सजिलो भएको छ । सामान्यभन्दा दुई दिन ढिलो मनसुन नेपाल प्रवेश गरेको भए पनि यसपालिको मनसुनमा नेपालभरि नै सामान्य वा औसत वर्षा भइरहेको छ ।

विज्ञहरुका अनुसार नेपालमा मनसुन भित्रने मिति जुन १० मानिन्छ । ‘यसपालि जुन १२ मा मनसुन नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको छ’, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने । बर्खा लाग्नु अगाडिको प्रि–मनसुनको अवधिमा पनि यसपटक औसतभन्दा बढी नै पानी परेको श्रेष्ठले बताए ।

‘हामीले केलाई सामान्य मनसुन मान्ने भन्नेबारे ३० वर्षको औसत आँकडासँग दाँज्ने गर्छौँ’ उनले भने– ‘यसो गर्दा यसपालि देशैभरि औसत वर्षा हुने र कतै पनि सुख्खा नहुने पूर्वानुमान गरिएको छ ।’ दाङमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने जमिन अझै पनि प्रशस्तै छ । मनसुनले साथ दिएपछि ती जमिनमा गरिएको खेती पनि तुलनात्मक रुपमा राम्रो हुने अनुमान कृषि ज्ञान केन्द्र दाङले अनुमान गरेको छ ।



Comment here