कृषीन्युज

दाङमा सलह : ५९० हेक्टरको मकै, तरकारी र धानमा क्षति

दाङमा मंगलबार र बुधबार गरी सलह किराले पाँच सय ९० हेक्टर जमिनमा लगाएको मकै, तरकारी र धानमा क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालका अनुसार घोराहीका दश पालिका क्षेत्रमा लगाएको मकै, धान र तकारी बालीमा सलह किराले प्रभाव पारेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नं. २, १०, ११, १८, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४, १६, १७, १२, १९ वडामा सलह किराले क्षति पुर्‍याएको छ । शान्तीनगर गाउँपालिका वडा नं. १, २ र ३, वंगलाचुली गाउँपालिका वडा नं. २, ४ र ५, लमही नगरपालिकाको ६ र ८ नम्बर वडामा क्षति गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. १, २, ५, ४, ९ नम्बर वडामा लगाएको मकै, तरकारीमा असर गरेको छ । गढवा गाउँपालिका वडा नं. ७, राजपुर गाउँपालिकाको २ र ७ नम्बर वडामा सलह किराले मकै बालीमा क्षति गरेको छ । पहिलो पटक सलह किराले किसानले लगाएको मकै, तरकारी र धानमा क्षति गरेपछि किरा धपाउन किसानलाई सचेत गर्दै सामूहिक अभियान थालिनुपर्ने आवश्यकता रहेको छ । अझै दाङ क्षेत्रमा सलह किराको हुल रहेको र किरा धपाउन समुदाय स्तरबाट ठूलो प्रयासको आवश्यकता पर्ने उनले बताए । किरा नष्ट गर्ने उत्तम समय भनेको किरा वास बसेको समयमा हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन लमहीका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

‘बास बसेको समयमा किरालाई नष्ट गर्न सकिन्छ । नष्ट गर्दा पानीको फोहोरोको प्रयोग गर्न सकिन्छ । पखेटा झ¥यो भने उड्न सक्दैनन् ।’ रेग्मीले भने, ‘अर्काे उपाय भनेको साइरन बजाउने हो । प्रहरीको, एम्बुलेन्सको साइरन बज्यो भने पनि किरा भाग्छन् ।’

दिनमा एउटा किराले आफ्नो औसत शरीरको तौल बरावरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुण्ड (एकटन बराबरको) ले एक दिनमा बढिमा १० हात्ती वा २ हजार पाँच सय मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्ने अध्ययनबाट पत्ता लागेको छ ।

यसरी व्यवस्थापन गर्न सकिन्छ सलह

–सलह पुरै पोषिलो युक्त कीरा भएकोले जालोको पासोमा संकलन गरी दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ ।

–सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुँवा आदिको प्रयोगबाट बस्न बाधा पुर्‍याई झुण्डलाई अन्यत्र मोडिदिन सकिन्छ ।

–नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ।

–एम्बुलेन्स वा प्रहरीको साइरन जस्तो ध्वनी निकालेर पनी यो कीरालाई भगाउन सकिन्छ।

–पानीको फोहोराले हानेर पनी यसको पखेटामा क्षति पर्‍याउन सकिन्छ ।

–परालको धुवा लगाएर पनी भगाउन सकिन्छ ।



Comment here