न्युजराजनीति

प्रदेश नं. ५, काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग

नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै काँग्रेसले आरडीडीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ ।

काँग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र सञ्चालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । पत्रमा कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताललाई आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड, जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका बिरामीले पनि  विना अवरोध उपचार पाउने सुनिश्चिता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै विदेशमा विचल्लीमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न र विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्ने खतरा औंल्याउँदै काँग्रेसले किसानलाई समयमै बीउ, विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन समेत सरकारसँग माग गरेको छ ।

प्रदेश सरकार गठन भएको साढे २ वर्ष बितिसक्दा पनि सरकारले नामाकरण र स्थायी राजधानी तोक्ने कार्यको प्रक्रिया अघि नबढाएको भन्दै काँग्रेस संसदीय दलले तत्काल प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।  कोभिड–१९ विरुद्धको लडाईमा नेपाली काँग्रेस सरकारको साथमा रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका कार्यवाहक नेता कनौडियाले जानकारी दिए ।



Comment here