कृषीन्युजमुख्य समाचार

राप्ती नदीको कटान नियन्त्रण : दुई वर्षमा सक्नुपर्ने तटबन्धको काम चार वर्षमा पनि पुरा भएन

राप्ती नदीको कटान नियन्त्रण गर्न दुई वर्ष भित्र सक्नुपर्ने तटबन्धको काम सम्झौता भएको चार वर्ष पुगिसक्दा पनी अझै सकिएको छैन। जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमहीले राप्ती नदीमा साढे ११ किलोमिटर क्षेत्रमा तटबन्ध गर्न आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता गरेको चार वर्ष पुग्दा पनि तटबन्धको काम अझै अधुरो छ ।

अहिले सम्म ८ किलोमिटर क्षेत्रमा तटबन्ध भएको र साढे ३ किलोमिटर क्षेत्रमा अझै तटबन्ध हुन बाँकी रहेको जनताको तटबन्ध कार्यक्रमका इञ्जिनियर रामचरित्र चौधरीले जानकारी दिए ।

‘आर्थिक वर्षको अन्त्यतिर सम्झौता भयो । त्यस वर्ष काम सुरु नै हुन पाएन । बाँकीका वर्षमा काम ढिलोगरी सुरु हुँदा तोकिएको समयसीमा भित्र तटबन्धको काम हुन सकेन’, चौधरीले भने–‘दुई पटक सम्म त म्याद थप भैसकेको छ । अब यो लकडाउनले गर्दा फेरि पनी म्याद थपिने सम्भावना छ ।’

जेठान गाउँ, कालिपुरुवा र चिसापानी क्षेत्रमा तटबन्धको काम सकिएको छ । त्यस बाहेक अन्य ठाउँमा तटबन्ध कार्य अहिले पनी चलिरहेको छ । गढवा गाउँपालिका वडा नं. १ वडहरा क्षेत्रमा १४ सय ७५ मिटर तटबन्ध हुनुपर्नेमा जम्मा ७ सय मिटर मात्रै तटबन्ध भएको छ ।

तकियापुरमा दुई प्याकेजमा गरी १९ सय मिटर तटबन्ध हुनुपर्नेमा १६ सय मिटर मात्रै तटबन्ध भएको छ । लमही नगरपालिका वडा नं. ४ र ६ मा पर्ने बलरामपुर क्षेत्रमा दुई किलोमिटर तटबन्ध हुनुपर्नेमा एक किलोमिटर मात्रै तटबन्ध भएको छ ।

गढवाको कान्छीगाउँमा डेढ किलोटिमर तटबन्ध हुनुपर्नेमा ८ सय मिटर मात्रै भएको छ । राजपुर–३ को कालिपुरुवा घाटमा डेढ किलोमिटर हुनुपर्नेमा एक किलोमिटर मात्रै तटन्ध भएको जनताको कार्यक्रमले जनाएको छ ।



Comment here