न्युज

लोकतान्त्रिक गबन्धनको पनि प्रचार अभियान तीब्र

Radio Bageshwori FM 94.6 MHz

नेपालगञ्ज, कार्तिक–२९ । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको घरदैलोमा निस्केका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदाताले भव्य स्वागत गरेका छन् । लोकतान्त्रिक गठबन्धनले आज बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सहित घरदैलो गरेको थियो । बाँके क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभाका उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ मा काँग्रेसका निरन्जनसिंह सिजापति र प्रदेश ‘ख’ मा सुरेन्द्र हमाल चुनावी मैदानमा छन् । नेपालगन्जको घरबारीटोल स्थित पिपलचौतारामा आज बिहान लोकतान्त्रिक गठबन्धनले सम्पर्क कार्यालय उद्घाटन पश्चात गरेको घरदैलोमा उम्मेदवारद्धय आजाद र हमाललाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । लोकतान्त्रिक गठबन्धनलाई जिताउने अभियानमा सक्रिय रहेका उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर तथा विभिन्न वडाका वडाअध्यक्ष समेतलाई वडा नम्बर २ का मतदाताले स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र राप्रपालाई जिताएको बताउँदै फेरीपनि आफ्नो अमुल्य मत दिने प्रतिवद्धता जनाएको वडा नम्बर २ का निर्वाचन प्रचार संयोजक एवम् वडाअध्यक्ष सुनिलसिंह हमालले बताए ।
उनका अनुसार बुधबार वडा नम्बर २ को घरबारीटोल, दैलेखी बंगाला, लोनियन टोल, बागेश्वरी सिनेमा हल रोड लगायत क्षेत्रमा घरदैलो गरिएको छ । उता प्रदेश सभा–२ ‘क’ का उम्मेदवार सिजापतिले बुधबार पुरैना क्षेत्रमा आफ्नो भेटघाट बढाएका छन् । भेटघाटका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको घरदैलोमा सहभागी भएका राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।
यस्तै लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ मा पनि निर्वाचन प्रचार अभियानलाई सशक्त रुपले अगाडी बढाएको छ । आज कोहलपुर नगरपालिका वडा नम्बर १३ मा घरदैलो अभियान भव्य रुपले गरिएको प्रतिनिधी सभा क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस उम्मेदवार माधवराम खत्रीले जानकारी दिए । घरदैलोमा उम्मेदवार प्रतिनिधी सभा उम्मेदवार खत्री र प्रदेश सभा–१ ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेल सहित काँग्रेस नेताहरु भानुभक्त भट्टराई, नारायणप्रसाद सिग्देल, नेतृ मिना सिग्देल, राप्रपाका नेता लालबहादुर ओली लगायत सहभागी भएका थिए । घरदैलोमा पुग्दा मतदाताहरु निकै उत्साहित भएको र लोकतान्त्रिक गठबन्धनलाई जिताउने प्रतिवद्धता जनाएको प्रदेश सभा उम्मेदवार गौडेलले बताए । यस्तै सोही क्षेत्रबाट प्रदेश सभा–१ ‘क’ का लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस उममेदवार शरदचन्द्र बर्माले पनि बुधबार आफ्नो क्षेत्रमा भेटघाट गरेका छन् ।
यसैगरी बाँकेको क्षेत्र नम्बर ३ मा पनि लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल विस्तारै तात्तिदै गएको उम्मेदवारले बताएका छन् । प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार बादसाह कुर्मीले बुधबार सोनपुर, खजुरा लगायत ठाउँमा कार्यकर्ता भेटघाट तथा मेला र घरदैलो गरिएको जानकारी दिए । प्रदेश सभा–३ ‘ख’ का लागी काँग्रेसका उम्मेदवार लक्ष्मीनारायण शाह लगायत त्यसक्षेत्रका अगुवा नेता, कार्यकर्ताको सहभागितामा गरिएको घरदैलोका क्रममा खजुरा क्षेत्रका सर्वसाधारणले विगतमा दुई पटक माओबादी र एमालेलाई जिताएपनि कुनै परिवर्तन आउन नसकेको बताएका थिए । यस्तै प्रदेश सभा–३ ‘क’ का काँग्रेस उम्मेदवार चन्तुराम थारुले पनि बुधबार आफ्नो क्षेत्रमा घरदैलो गरेका छन् । उनले नौवस्ता, बनकटवा लगायत क्षेत्रमा भेटघाट गरिरहेका छन् ।



Comment here